१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विमान दुर्घटनाको बारेमा सदन र जनतालाई जानकारी गराउन कांग्रेसको माग


52
Shares

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विमान दुर्घटनाको बारेमा सदन र जनतालाई जानकारी गराउन माग गर्नु भएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले विमान दुर्घटनामा परी निधन हुनेहरुको शव पहिचान भइसक्दासमेत आफन्तलाई बुझाउने प्रक्रियामा ढिलाइ गर्दा आफन्तमाथि झनै पीडा थपिएको बताउनुभयो ।

उहाँले विमान दुर्घटनाको बारेमा उठेका सबै पक्षको सम्बोधन गर्न सरकारलाई निर्देशन गर्न पनि सदनको ध्यानाकर्षण गराउनुभयो । प्रमुख सचेतक लेखकले संसद बैठकमा विमान दुर्घटनामा परी निधन हुनेहरुको लागि सदनमा विषयवस्तु प्रवेश गराइने आश गरेपनि त्यसो हुन नसकेको बताउनुभयो ।

माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सेती खोचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो ।

प्रमुख सचेतक लेखकले विमान दुर्घटनाको छानबिनका लागि सरकारले ५ सदस्यीय छानबिन समिति बनाएको र समितिले आफ्नो निश्चित समयभित्र अध्ययन प्रतिवेदन बुझाउने आशा गरेको बताउनुभयो ।

उहाँले सरकार सदनप्रति उदासिन, पीडित परिवारकाप्रति निरपेक्ष र जनताकाप्रति कर्तव्यविमुख हुन नमिल्ने बताउनुभयो ।