
काठमाडाैं । सिन्धुपाल्चोकका विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरू चिसोबाट प्रभावित भएका छन्।
त्यसमा पनि दुर्गम हिमाली क्षेत्रका बालबालिका बढी प्रभावित भएका हुन् । हिमाली क्षेत्रमा हिउँ पर्ने र अत्याधिक चिसो हुने भएकाले विद्यालय समेत नजाने बालबालिकाहरूको संख्या बढ्दै जान थालेको छ । एक सामाजिक संस्थाले त्यस क्षेत्रका बालबालिकालाई विद्यालय जाने वातावरण बनाउन न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेर विद्यालय जाऔं अभियान सञ्चालन गरेको छ ।
चिसो समयमा आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा किन्न मुस्किल हुन्छ । रोटरी क्लब न्यूयोर्क क्वीनको सहयोग र रोटरी कल्ब महाराजगञ्ज काठमाडौंको संयोजनमा सिन्धुपाल्चोकको दुर्गम पाँचपोखरी थाङपाल गाउँपालिकास्थित दुर्गम भोताङदेवी माध्यमिक विद्यालय पुगेर विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामग्री र अभिभावकलाई शैक्षिक परामर्श समेत दिएको छ ।
एकसरो कपडाको भरमा चिसो छल्दै विद्यालय जानुपर्ने बाध्यतामा रहेका विद्यार्थीहरुलाई लक्षित गरेर न्यानो कपडा, ज्याकेट, स्वीटर, स्कुल ब्याग, कपि, कलम र किताब लगायतका सामग्री वितरण गरिएको रोटरी कल्ब महाराजगञ्जका चार्टर अध्यक्ष डा. जय टण्डनले बताउनुभयाे । साेही संस्थाले हिमाली र दुर्गम क्षेत्रका बालबालिकालाई मात्र लक्षित गरेर चिसाेको समयमा विद्यार्थीहरु कठ्यांग्रीने परिस्थिति नबनोस भनेर अभियान सञ्चालन गरेको हाे ।
चिसोका कारण विद्यार्थीहरु विद्यालय जान समेत समस्या भएको छ । रोटरी क्लब न्यूयोर्क क्वीनका अध्यक्ष गुरुदत्त पराजुलीले दुर्गम क्षेत्रका अतिविपन्न वर्गका बालबालिकाको खोजी गरी १२ कक्षासम्म छात्र वृत्तिको व्यवस्था समेत गरेर अध्ययनमा सहयोग गर्ने जनाएकाे छ ।
संस्थाले दुर्गम क्षेत्रका बरुवा र थाङपाल लगायतका ग्रामीण क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकाे हो । दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक उन्नतिको लागि अभियान संस्थाले सञ्चालन गरेको हो । चिसो मौसमको सिजनमा सबैको न्यानो कपडा नभएको समयमा स्वीटर वितरणले विपन्न विद्यार्थीलाई राहत मिलेको भोताङदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्