
एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले सिटबेल्ट नबाधेको आरोपमा जरिवाना गरेको छ ।
गुडिरहेको कारमा सामाजिक सञ्जालका लागि भिडियो बनाउँदै गर्दा प्रधानमन्त्री सुनकले सिटबेल्ट नबाँधेको भन्दै प्रहरीले जरिवाना गरेको हो । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटले प्रधानमन्त्री सुनकले सानो भिडियो बनाउनका लागि सिटबेल्ट खोलेको जनाएकाे छ । प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गर्नु भएको र माफीसमेत माग्नुभएको उल्लेख गरिएकाे छ।
बेलायतमा कारमा सिटबेल्ट नलगाएमा १ सय पाउन्ड जरिवाना तिर्नुपर्छ । यदि कसैले जरिवाना तिर्न नमानेमा वा मुद्दा अदालतसम्म पुगेमा भने उक्त जरिवाना ५ सय पाउन्डसम्म तिर्नुपर्नेछ । भिडियो बनाउने बेला प्रधानमन्त्री सुनक उत्तरी इंग्ल्यान्ड भ्रमणका क्रममा ल्यांकाशर पुग्नुभएकाे थियाे । भिडियोमा प्रधानमन्त्री सुनक अर्थव्यवस्था सुधारका लागि स्थानीय स्तरमा लगानी बढाउँदै नयाँ रोजगारी सिर्जनामा लागेको बताउनुभएकाे छ ।
उहाँ सरकारमा रहेकै बेला दोस्रो पटक जरिवानामा पर्नुभएकाे हाे । यसअघि तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनसँगै कोरोना नियन्त्रणका लागि लागू लकडाउनको नियम तोडेको आरोपमा उहाँलाई जरिवाना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्