
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी जेठभित्र देशभरै संगठन विस्तार गर्ने भएको छ ।
रास्वपाकाे आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी गठन भएको एक वर्षभित्रै देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो । गत असार महिनाकाे पहिलो साता रास्वपा पार्टी घोषणा गरिएको थियो । रास्वपाका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा यहि माघभित्र ७ वटै प्रदेशमा भेला गर्ने र चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गर्ने उल्लेख गरिएकाे छ ।
जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ । माघ मसान्तभित्र प्रदेश समितिका विस्तारित भेलाहरू गर्ने र भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने निर्णय गरेको सोही पार्टीले प्रदेशका भेलाहरुको मिति पनि तय गरेको छ ।
जस अनुसार माघ १४ गते प्रदेश नम्बर १ को विराटनगरमा भेला गरिने छ । माघ १६ गते मधेशको जनकपुरमा भेला आयोजना गर्ने निर्णय भएको छ । त्यस्तै माघ १८ गते बागमतीको हेटौंडा, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २८ गते कर्णालीको सुर्खेत र माघ २६ गते सुदूरपश्चिमको धनगढीमा प्रदेश भेला हुने जनाइएको छ ।
रास्वपाकाे आइतबार बसेको केन्द्रीय समिति बैठकले विराजभक्त श्रेष्ठलाई संसदीय दलको उपनेता र सन्तोष परियारलाई प्रमुख सचेतक तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्