
एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती विरुद्ध नवाजुद्दीनकी आमाले उजुरी दर्ता गरेकी छन् ।
नवाजुद्दीनकी आमा मेहरुनिसा सिद्दिकीले आफ्नी बुहारी आलिया विरुद्ध उजुरी गरेकी हुन् ।
भारतीय सञ्चार माध्यमका अनुसार वर्सोवा प्रहरीले आलियालाई सोधपुछका लागि बोलाएको छ । नवाजकी आमा र श्रीमतीबीच सम्पत्तिलाई लिएर विवाद भएको थियो । जसका कारण उक्त विवाद प्रहरीमा पुगेको हो ।
प्रहरीले भारतीय दण्ड संहिता (आईपीसी) को धारा ४५२, ३२३, ५०४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ । नवाजुद्दीनकी श्रीमतीको वास्तविक नाम अञ्जना किशोर पाण्डे थियो । तर, नवाजुद्दीसँग विवाहपछि उनले आफ्नो नाम बदलेर आलिया जैनब राखेकी हुन् । सम्पत्तिलाई लिएर मेहरुनिसा र आलिया बीच चर्को झगडा भएपछि मेहरुनिसा प्रहरीको मा पुगेर आलियाविरुद्ध उजुरी दर्ता गरेको समाचारमा उल्लेख छ ।
यतिमात्रै नभएर सन् २०२० मा आलियाले नवाजको परिवारमाथि आफूलाई कुटपिट गरेको आरोप लगाएकी थिइन् । साथै आलियाले नवाजुद्दीनका भाइ शम्स नवाब सिद्दिकीले आफूमाथि दुर्व्यवहार गरेको र यसै कारणले नवाजुद्दीनलाई सम्बन्धविच्छेदका लागि कानूनी पत्र पनि पठाएको बताएकी थिइन् ।
सन् २०२१ मा आलियाले नवाजुद्दीनसँग सम्बन्धविच्छेद गर्ने निर्णय परिवर्तन गरिन् । उनले नवाजको व्यवहारमा धेरै परिवर्तन आएको भन्दै सम्बन्धविच्छेद नगर्ने निर्णय गरेको बताएकी थिइन् । उनले आफू र नवाजुद्दीन दुवैले मिलेर मतभेद सुल्झाउने र आफ्ना सन्तानको भविष्य पनि हेर्ने बताएकी थिइन् । नवाजुद्दीन र आलियाका दुई सन्तान छन् ।
प्रतिक्रिया दिनुहोस्