
काठमाडौं । इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यको आत्मदाह पछि उपचारका क्रममा निधन भएपछि सामाजिक सञ्जाल उनकै विषयलाई लिएर तरंगित छ ।
उनको आत्मदाहलाई लिएर नेता,मन्त्री कलाकार लगायतले सामाजिक सञ्जालमा विभिन्न भनाइहरु राखेका छन् । आचार्यको आत्मदाहलाई कसैले सरकारको कमजोरी,कसैले विगतको बेथिति आदि कारण मानेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरेका आचार्यको उपचारको क्रममा बुधबार बिहान निधन भयो । उनको निधनसँगै सामाजिक सञ्जाल तातेको छ । सबैले उनलाई श्रद्धाञ्जली दिंदै फेसबुकका भित्ता भरेका छन् ।
सामाजिक सञ्जालमा देखिएको स्टाटसहरूमा गृहमन्त्री रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, विभिन्न राजनीतिक दलका नेता, कलाकार, बुद्धिजिवी लगायतले आ–आफ्नो भनाई सार्वजनिक गरेका छन् ।
उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्। उनले लेखेका छन्, ‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपार्इंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।’
त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आचार्यको आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको बताएका छन् । उनले समाजिक सञ्जालमा लामो स्टाटस लेख्दै राज्य असफल रहेको बताएका हुन् । उनले लेखेका छन्, ‘राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् । नागरिकका रुपमा, जनप्रतिनिधीका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा हामी सबै असफल भइरहेका छौँ ।’
त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आचार्यको आत्मदाहको घटनाले राज्य लज्जित भएको सामाजिक सञ्जाल मार्फत बताएका छन् । ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ?’ भन्दै प्रश्न समेत गरेका छन् ।
त्यस्तै, कलाकारहरूले पनि सामाजिक मार्फत आफ्नो भनाइ राखिरहेको छन् । यसैबीच अभिनेता निश्चल बस्नेतले पनि उक्त आत्मदाहको बारेमा लेखेका छन् । उनले सरकार कसरी असफल भएर पनि देश को जिम्मेवारी बोकेर बसेको बताएका छन् । ‘उनले लेखेका छन्, सरकारमा बस्ने,संसदमा बस्नेले राज्यलाई जिम्मेवार अब पनि नबनाउने हो भने जुनसुकै पार्टीको सरकार बनेपनि जनताको सरकार कहिले बन्ने छैन । संसदमा सुनाइयोस् वहाँ ले लेखेका कुराहरू, बुझ्नेले धेरै काम गर्नेछन् जनताकोलागि ,नबुझ्नेले जे गरिरहेकाछन् त्यै गर्नेछन् ,मात्र भन्नेछन् हार्दिक श्रदाञ्जली’ ।
आचार्यको आत्मदाहाको विषयलाई लिएर समाजका अन्य विभिन्न व्यक्तिहरुले पनि सामाजिक सञ्जालका वालमा श्रद्धाञ्जली सहित आ–आफ्ना विचार राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्