७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


दुर्घटनामा परी संसद सचिवालयका अधिकृत श्रेष्ठको मृत्यु


507
Shares

विराटनगर । दुर्घटनामा परी प्रदेश १ को प्रदेशसभा (संसद)सचिवालयका अधिकृतको मृत्यु भएको छ ।

दुर्घटनामा संसद सचिवालयका अधिकृत सुनसरीको धरान उपमहानगरपालिका–८ घर भएका प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको हाे ।

कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ स्थित ढाटमा बुधबार भएकाे दुर्घटनामा परी संसद सचिवालयका अधिकृत श्रेष्ठको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठाेक्किँदा बिहान ८:५५ बजेतिर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताउनु भयाे ।

सरकारी मोटरसाइकल चलाएर धरानबाट विराटनगरस्थित संसद सचिवालयतर्फ आउने क्रममा श्रेष्ठ दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।

श्रेष्ठलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा दिउँसो ३:३० बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयाे ।