
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गर्नुभएको छ ।
राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै गर्दै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुग्नुभएकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गर्नुभयो । वसन्त श्रवणको अवसरमा राष्ट्रपति भण्डारीले देवी सरस्वतीको पूजा आराधना समेत गर्नुभएको छ ।
वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालगायतको उपस्थिति थियो ।
वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ । वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ ।
वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु शुरुवात भएको मानिन्छ भने यस दिनबाट नै संसारको स्वरुपले नै नयाँ रुप लिने विश्वास रही आएको छ ।
तस्विरहरू :








प्रतिक्रिया दिनुहोस्