
काठमाडौं । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरी मनाइन्छ ।

वसन्त ऋतु सुरू भएसँगै यस पर्व आउने भएकाले वसन्त पञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ ।

आज सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रही आएको छ ।

आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ, मन्दिरमा पूजाआजा गर्न भक्तजन र विद्यार्थीको घुइँचो लागेको छ । स्वयुम्भुनाथ र गैरीधारास्थित नीलसरस्वतीमा अक्षरारम्भका लागि बालबालिकाहरुसहित आफन्तजनको भीड छ ।

विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि रहेको छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास रही आएको छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, व्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले स्तुति गान गर्ने गर्दछन् ।

विद्या र सिर्जनाकी देवी भएकाले सबैले आफ्नो–आफ्नो घरमा पनि देवी सरस्वतीको फोटोमा पूजा गर्ने चलन छ ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा पनि पुज्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्