२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्र निर्माणमा स्वच्छ खेलकुदकाे आवश्यक: उपसभामुख इन्दिरा

म्याराथनमा पुरूषमा मगर र महिलामा आचार्यले प्रथम उपाधि जिते

130
Shares

काठमाडाैं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले राष्ट्र निर्माणका लागि स्वच्छ खेलकुद आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार ‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ भन्ने नाराका साथ काठमाडौंमा सुरु भएको म्याराथन प्रतियोगिता बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले खेलकुद राष्ट्रको गहना भएको बताउनुभयो ।

त्यस्तै, साेही कार्यक्रममा बोल्दै उर्जा तथा जलस्रोत राज्यमन्त्री दिपकबहादुर सिंहले सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । खेलकुद राष्ट्रको पहिचान भएकाले खेलकुद क्षेत्रको विकासका लागि सरकारले दिर्घकालीन योजना बनाउनुपर्ने उहाँको तर्क छ ।

दिलकुमारी केसी प्रतिष्ठानका संयोजक नवराज केसीले पछिल्लो समय वातावरणले मानव जीवनमा पारेको असर न्यूनिकरणको लागि चलचित्रकर्मी, सञ्चारकर्मी र कलाकारको सन्देशमूलक म्याराथनले भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो । दिलकुमारी केसी स्मृति प्रतिष्ठान, चलचित्र कलाकार संघ, कान्ति साँस्कृतिक केन्द्रले गरेको चलचित्रकर्मी, कलाकार, पत्रकारसहितको ३ किलोमिटर म्याराथनमा पुरुष तर्फ धनुजंग मगरले प्रथम उपाधि हात पार्दै ५० हजार रुपैयाँ जितेका छन् ।

त्यस्तै विलेनियम तण्डुकार शाहले दोस्रो स्थान प्राप्त गर्दै ३० हजार र तेस्रो स्थान प्राप्त गर्दै १५ हजार रुपैयाँ मनोज बिकले हात पारेका छन् । महिला तर्फ नायिका पवित्रा आचार्यले प्रथम स्थान प्राप्त गर्दै ५० हजार रुपैयाँ हात पारेकी छन् । दोस्रो स्थान अस्मिता सुनार जुरेली र पविरोजा ढकालले तेस्रो स्थान प्राप्त गरेका छन् ।

म्याराथनमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ संगितकार शम्भुजित बास्कोटा, वरिष्ठ कलाकार बसुन्धरा भुषाल लगायतका चलचित्रकर्मी, सञ्चारकर्मी र कलाकारहरूको सहभागिता रहेकाे थियो ।