
एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती आलिया जैनबले आफूलाई घरमा नजरबन्दमा राखेकाे आरोप लगाएकी छन् ।
नवाजुद्दीनकी आमा मेहरुनिसा सिद्दिकीले हालै आफ्नी बुहारी आलियाविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । अब यो सम्पूर्ण मामिलामा आलियाले आफ्नो घरमा उत्पीडनको सामना गरिरहेको बताएकी छन् । उनलाई खाना र पानी पनि बन्द गरिएको र भान्साकोठामा जान पनि निषेध गरिएको बताएकी छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार आलियाले सोफामा सुत्नु परेको गुनासाे समेत गरेकी छन् । आलियाले अहिलेसम्म यस विषयमा प्रहरीमा उजुरी भने दिएकी छैनन् । तर, यस सम्बन्धमा आफ्ना वकिललाई जानकारी दिएको बताएकी छन् । आलिया आफ्ना सन्तानसँग दुबईमा बस्ने गरेकी थिइन ।
तर, राहदानीको समस्याका कारण उनी स्वदेश फर्किनुपरेको थियो । घर आएपछि सासुले उनीविरुद्ध उजुरी दर्ता गराएको उनले आरोप लगाएकी छन् । उनले भनेकी छन्, ‘मलाई घरमै नजरबन्दमा राखिएको छ । घरबाहिर निस्कन निषेध गरिएको छ । भान्सा कोठामा जान पनि दिइँदैन । खाना पठाउने मेरा साथीहरूलाई भित्र जान दिइँदैन। गेटमा जान पनि सकिनँ किनभने म धेरै डराएको छु। म बैठक कोठामा सोफामा सुतेकाे छु ।’
आफूले नवाजुद्दीनलाई १० वर्षदेखि चिनेको र उनी लोकप्रिय स्टार नहुँदै आफूहरुले विवाह गरेको उनले बताएकी छन् । उनको श्रीमती भएर उनको घरमा किन बस्न सक्दिनँ भन्ने जान्न चाहन्छु भन्दै उनले नवाजुद्दीनलाई प्रश्न समेत गरेकी छन् । केही दिनअघि नवाजुद्दीनकी आमा र श्रीमतीबीच सम्पत्तीकाे विषयलाई लिएर विवाद भएको थियो । जसका कारण उक्त विवाद प्रहरीमा पुग्यो । नवाजुद्दीनकी आमाले आलियाविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले भारतीय दण्ड संहिता (आईपीसी) को धारा ४५२, ३२३, ५०४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरेको समाचार प्रकाशित भएको थियो ।
यति मात्रै नभएर सन् २०२० मा आलियाले नवाजुद्दीनको परिवारमाथि आफूलाई कुटपिट गरेको आरोप लगाएकी थिइन् । साथै आलियाले नवाजका भाइ शम्स नवाब सिद्दिकीले आफूमाथि दुर्व्यवहार गरेको र यसै कारणले नवाजुद्दीनलाई सम्बन्ध विच्छेदका लागि कानूनी पत्र पनि पठाएको बताएकी थिइन् । सन् २०२१ मा आलियाले नवाजुद्दीनसँग सम्बन्ध विच्छेद गर्ने निर्णय परिवर्तन गरिन् ।
उनले नवाजुद्दीनको व्यवहारमा धेरै परिवर्तन आएको भन्दै सम्बन्ध विच्छेद नगर्ने निर्णय गरेको समेत बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्