२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कालीगण्डकी नदी क्षेत्रका जलचर र जैविक विविधता संकटमा


52
Shares

म्याग्दी । कालीगण्डकी नदीको क्षेत्रमा मानवीय लापरबाही र जलवायु परिवर्तनका कारण जलचर र जैविक विविधता लोप हुँदै गएको छ ।

वर्षेनी आउने बाढी-पहिरो र अनियन्त्रित रुपमा जथाभावि भइरहेको नदी दोहनका कारण म्याग्दीका नदी तथा खोलाहरुबाट जलचर प्राणी लोप हुँदै जान थालेका हुन् । जैविक विविधतामा समेत ह्रास आउँदै गइरहेको हो । प्राकृतिक र मानवीय कारणले जल सम्पदा मासिंदै र प्रदूषित हुँदै जान थालेपछि जलचर प्राणीहरुको अस्तित्व नै खतरामा परेको पाइएको छ ।

कालीगण्डकी नदीबाट शालिग्राम लोप हुँदै गएको छ । यहाँ पाइने असला माछा, चेपागाँडा, भुरा र गंगटो आदि हराउँदै गएका छन् । जथाभावी भइरहेको नदी दोहन, फोहाेरमैला विसर्जन तथा बाढी पहिरोका कारण कालीगण्डकी, म्याग्दी नदी र रघुगंगा नदीबाट जलचर प्राणी मासिन थालेका हुन् । साेही क्षेत्रको जैविक विविधता खल्बलिदै गएको वन तथा वातावरण क्षेत्रका जानकार चन्द्रमणी सापकोटाले बताउनुभयाे ।

विगत ५ वर्षदेखि यि जलाधार क्षेत्रमा गएको पहिरो, बाढी र अत्यधिक मात्रामा भएको नदीहरुको दोहनका कारण नदीहरुमा रहेका जलचरहरु लोप हुँदै गएकाे उहाँकाे भनाइ छ । भगवान विष्णुको प्रतिक मानेर पुजिने बहुमूल्य शिला शालिग्राम र जलचर प्राणीको बासस्थान मानिएको कालीगण्डकी नदीको नारच्याङ क्षेत्रदेखि सदरमुकाम बेनीसम्मको क्षेत्रमा जलचर प्राणीको अस्तित्व लोप हुँदै गएको पाइएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधिन जलविद्युत अयोजनाका कारण पानीको प्राकृतिक गुणमा परिवर्तन भएर वातावरणीय असन्तुलन हुन थालेपछि जलचरको अस्तित्व संकटमा परेको सरोकारवालाहरुले बताएका छन् । नारच्याङ जलचर र जंगलीजनावरहरुको बासस्थानका लागि अत्यन्त अनुकूल स्थानहरु भएको ठाउँ भनेर चिनिन्छ ।

पछिल्लो समय यहाँका नदी तथा खोलाहरुबाट विद्युत आयोजनाहरु निर्माण गर्ने होडबाजी नै चलेको छ । जसका कारण यहाँका जलचरहरु संकटमा परेका नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला जलविद्युत आयोजनाको वातावरण इकाईमा कार्यरत शिव पुर्जाले बताउनुभयाे ।