१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधेश प्रदेशमा ४० प्रतिशत कुष्ठरोगी भेटिए


52
Shares

काठमाडौं । नेपालमा नयाँ भेटिएका बिरामी मध्ये मधेश प्रदेशमा सबै भन्दा धेरै कुष्ठरोगका बिरामी रहेको पाइएको छ ।

आइतबार ७० औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम मनाउने सन्दर्भमा उक्त तथ्यांक सार्वजनिक भएको हो । आर्थिक वर्ष २०७९ / ०८० मा नेपालमा २ हजार २ सय ८५ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् । सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार मधेश प्रदेशमा ९ सय १० जना, लुम्बिनी प्रदेशमा ५ सय ८१ जना, प्रदेश-१ मा ३ सय ४५ जना, सुदूरपश्चिम प्रदेशमा २ सय ५ जना, कर्णाली प्रदेशमा ६८ जनालाई कुष्ठरोग भएको भेटिएको छ ।

गण्डकी र बागमती प्रदेशमा भने अन्य प्रदेशको तुलनामा कुष्ठरोगीको संख्या कम भएकाे छ । १६ जिल्लाहरु झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी जिल्ला हुन् । मधेश प्रदेशको सप्तरी बाहेकका सबै जिल्लामा कुष्ठरोगका बिरामी रहेका छन् ।

सरकारले सन् २०१० को जनवरीमा कुष्ठरोग निवारण भएको घोषणा गरेपनि अहिलेसम्म नेपालमा पूर्ण रुपमा कुष्ठरोग निवारण हुन सकेको छैन । नेपालमा रहेका कुल कुष्ठरोगी मध्ये मधेश प्रदेशमा मात्र ४० प्रतिशत कुष्ठरोगी भेटिएका हुन् ।