१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग


78
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न माग गर्नुभएको छ ।

आइतबार बिहान ट्वीट गर्दै उहाँले निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभएको हो ।

‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ, यसतर्फ बेलैमा ध्यान जाओस् ।’ उपसभापति खड्काले ट्वीटमा लेख्नु भएको छ ।

यसैगरी, गत सोमबार नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले पनि ‘समयमै राष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न’ सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको थियो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ (१) मा राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचन आयोगले निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने उल्लेख छ ।

संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने उल्लेख छ । संविधान र ऐन बाझिँदा राष्ट्रपतिको चुनावको मिति तोक्न आयोगलाई सकस भएको हो ।