१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मौलिक अधिकारलाई व्यवहारमा उतार्न ऐन निर्माण प्रक्रियालाई अघि बढाउँछु : प्रधानमन्त्री प्रचण्ड


104
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्नका लागि आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताउनुभएको छ ।

आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्नको लागि ऐन, निर्माण प्रक्रियालाई यथाशिघ्र अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘जनताको मौलिक अधिकार हो स्वास्थ्य सेवा प्राप्त गर्नु । राज्यको दायित्व हो त्यसलाई पूरा गर्नु । त्यो मौलिक अधिकारलाई व्यवहारमा उतार्नको लागि आवश्यक पर्ने ऐन अहिलेसम्म बन्नसकेका छैनन् । मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्नको लागि ऐन, निर्माण प्रक्रियालाई यथाशिघ्र अघि बढाउने विश्वास दिलाउन चाहन्छु ।’

उहाँले सातै प्रदेशमा विशेष अस्पतालहरुको निर्माण गरेर मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि सातै प्रदेशका अस्पतालसँग जोड्ने कुरालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, यो पटक सातै प्रदेशमा विशेष अस्पतालहरुको निर्माणमार्फत र मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि सातै प्रदेशका अस्पतालसँग जोड्ने कुरालाई मैले उच्च प्राथमिकतामा राखेको छु । तपाईहरु सबैको सहयोग भएमा हामी त्यसलाई पूरा गर्नसक्छौं ।

उहाँले गंगालाल अस्पतालालई शैक्षिक केन्द्रको रुपमा विकास गर्न आफ्नो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले देशमा धेरै समस्याको समाधान गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले केही घटनाक्रमले समाज राज्यप्रति वितृष्णा पैदा हुन संकेत देखिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले कर्मचारी तन्त्रलाई व्यवस्थित गर्ने कुरामा पनि सरकारले जोड दिने बताउनु भयो ।