
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ ।
शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शीर्षकमा सञ्चालित कार्यशालामा काठमाडौं र काठमाडौं बाहिरका १ सय भन्दा बढी पत्रकारहरूले सहभागिता जनाएका थिए ।
काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा सञ्चालित कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, के.पि. ढुंगाना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, बिदुर गिरी, विजयरत्न तुलाधर, डब्बु क्षेत्रीले पत्रकार आचारसंहिता, समाचार लेखन शैली, चलचित्र पत्रकारिताको इतिहास, विश्व सिनेमाको इतिहास, फोटोपत्रकारिता, साइबर क्राइम, भिडियो कथ्य शैली, प्रस्तोता तथा चलचित्र पत्रकारिताको महत्व लगायतका शीर्षकहरुमा कक्षा सञ्चालन गरेका थिए ।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुसालले कार्यशालाको क्रममा यसको महत्वकाे बारेमा चर्चा गरेका थिए । सञ्चारकर्मी, लेखक तथा निर्देशक प्रकाश सायमीले चलचित्रको इतिहासकाे बारेमा चर्चा गर्दै समीक्षा गर्न चलचित्र बुझ्नु आवश्यक रहेको बताएका थिए । फोटोपत्रकार विकास रौनियारले चलचित्र पत्रकारितामा फोटोको प्रमुख भूमिका रहने बताउँदै यसका आधारभूत मापदण्डहरु पालना गर्नुपर्ने बताएका थिए । छायांकार विष्णु कल्पितले भिडियोको भाषा र यसको बुझाईकाे बारेमा प्रष्ट पारेका थिए।
पत्रकार के.पि.ढुंगानाले पत्रकार हुँ भन्दैमा गल्ती गर्ने छुट कसैलाई नभएको बताउँदै गल्ती गर्ने सबैले कारबाहीको भागीदार हुनुपर्ने बताएका छन् । पत्रकार नरेश भट्टराईले प्रस्तोताहरु पनि पत्रकार नै भएको बताउँदै यसको स्कोपका बारेमा चर्चा गरेका थिए । पत्रकारहरु शान्तिप्रिय, बिदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले चलचित्र विधाको पत्रकारिताको महत्वकाे बारेमा चर्चा गरेका थिए ।
शनिबार नै आयोजना गरिएको समापन कार्यक्रममा प्रमुख अतिथि रहेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र पत्रकारहरु चलचित्र क्षेत्रकै महत्वपूर्ण अंग रहेको बताएका छन् । उनले नीतिगत रुपमा नै चलचित्र पत्रकारहरुलाई राज्यले विभिन्न सहयोगहरु गर्ने बताएका छन् । अध्यक्ष केसीले सत्य र तथ्यमा आधारित पत्रकारिता गर्दै चलचित्र क्षेत्रका जटिलतालाई न्यूनिकरण गर्न तथा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनमा गर्न सहयोग गर्न आग्रह समेत गरेका छन् ।
चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाले कार्यशालामा सिकेका कुराहरुले चलचित्र पत्रकारिताको कर्म गर्न सहयोगी भूमिका खेल्ने विश्वास लिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्