
काठमाडौं । ललितपुरमा कार र ट्याक्सी एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित बीएण्डबी अस्पताल नजिकै आइतबार राति कार र ट्याक्सी एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको हो । साेही घटनामा ६ जना घाइते भएका हुन् ।
दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार २ गरी ८ जना घाइते भएका थिए । ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षीय सरोज कुमार बिक र कारमा सवार काठमाडौंको कलंकी बस्दै आएका मोरङका अन्दाजी ३५ वर्षीय धनबहादुर बस्नेतको उपचारका क्रममा बिएण्डबी अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये कार चालक कलंकी बस्ने झापा बिर्तामोडका ३५ वर्षीय वीरबहादुर बिकको अवस्था गम्भीर रहेको छ ।
ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार आइतबार राति साढे १२ बजे एक-आपसमा ठोक्किंएका थिए ।
कार चालक बिकले मादक पदार्थ सेवन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्