
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले देशको आर्थिक अवस्था नाजुक बन्दै गएकोमा सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।
नेपालसँगै ज्ञापनपत्र बुझाउन सो पार्टीका नेताहरु झलनाथ खनाल, बेदुराम भुसाल र गंगालाल तुलाधरलगायत बालुवाटार पुगेका थिए ।
ज्ञापनपत्रमा देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको भन्दै विभिन्न सुझावहरु दिइएको छ ।
बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देशको आर्थिक अवस्था नाजुक हुँदै गएकाले तत्काल समाधान खोज्न एकीकृत समाजवादीले सुझाव दिएको छ ।
मुद्रास्फिति दर १२ प्रतिशत माथि पुग्दा महँगी बढेर सर्वसाधारणले बाँच्नै नसक्ने अवस्था आएको भन्दै ज्ञापनपत्रमा जनता चरम निराश भएको दाबी गरिएको छ ।
तरलता अभावले बैंकिङ क्षेत्र संकटको डिलमा पुगेको, भूमिगत अर्थतन्त्र मौलाएको, आन्तरिक उत्पादन र उत्पादकत्व निरन्तर घट्दै गईरहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
देशबाट जनशक्ति र पूँजी सँगसँगै पलायन भईरहेको भन्दै बौद्धिक तथा युवा जनशक्ति र विद्यार्थीको पलायन रोक्न तत्काल कदम चाल्न माग गरिएको छ ।
एकीकृत समाजवादीले आर्थिक संकट समाधानका लागि २० बूँदे सुझाव पनि दिएको छ ।
हेर्नुहोस् एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र :–



प्रतिक्रिया दिनुहोस्