१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हिउँदे वर्षा नहुँदा सर्लाहीका किसान चिन्तित


169
Shares

सर्लाही । यसपटकको हिउँद माघ मध्य हुँदा सम्म पनि पानी नै नपरि हिउँद सकिन लागेपछि किसानहरु चिन्तित भएका छन् ।

हिउँदे वर्षा नहुँदा खेतबारीका बाली विरुवा सुक्दै गएको हेरेर चित्त बुझाउनुपरेको किसानको भनाई छ । हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नसकेको र अब चाँडै पानीका मुहान सुक्दै जान सक्ने गाउँका अग्रजहरु बताउँछन् ।

हिउँदे वर्षा जमिन भिजाउने मात्र नभइ बालीनालीका लागि अत्यन्त पोषिलो हुने किसानहरु बताउँछन् । भर्खरै हुर्कँदै गरेका मकै, रहर, खेसरि, मुसुरो, तरकारी, उखु, अन्नबालीमा गहुँ र आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि हुर्कर्ने गर्दछ । यसपालि वर्षा नै नभइ हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने चिन्ता किसानहरुमा बढेको छ ।

हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत इनार, चापाकल, कुवा पनि गर्मी बढेसँगै चाँडै सुक्ने गरेका छन् । यसपाली हिउँदमा पानी नपरी माघ दोस्रो साता लागेसँगै घाम चर्कंदै गएको हुँदालगत्तै खानेपानीको हाहाकार पर्नसक्ने स्थानीयहरु बताउँछन् ।

फलफूल खेती आँप, लिची, र रुख कटहर सहितका फल सघन हुने क्षेत्रका किसानले लगाएका फलफूल समेत हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्तामा किसान छन् ।

हिउँदे वर्षा सिँचाइका लागिमात्र होइन, बालीको पोषण र रोग प्रतिरोधका लागि पनि रामवाण हुन्छ हुने गर्दछ । हिउँदे वर्षा नहुँदा प्रकृतिका सन्तुलन खलबलिन्छन्, जताततै यसको असर बढ्छ र बाली लगाउन समस्या पर्छ ।

तोरी टिपेर मकै लगाउन तयार पारिएको बारी बाझो रहेको छ भने जमिनमा चिस्यानको अभावले गर्दा नयाँ उखु समेत लगाउन गाह्रो भएको छ । आलु, तोरी पाकेको बाली भित्र्याएर तरकारी लगायत बाली लगाउने समय भएपनि जमिनमा चिस्यान नहुँदा बाली लगाउन गाह्रो भएको छ ।