
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरु नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गर्नुभएको हो ।
बुधबार बिहान बालुवाटारमा भएको भेटमा नागरिकता विवादमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउने नबनाउने विषयमा छलपल भएको बुझिएको छ ।
नागरिकता पुनः प्राप्ति गरेका रास्वपा सभापति लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएमा सरकारबाट बाहिरिने बताउनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड भने अब गृह मन्त्रालय अरू दललाई नदिने पक्षमा हुनुहुन्छ ।
फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय पनि सत्ता गठबन्धनभित्र पेचिलो बन्दै गएको छ । यसअघि एमाले र माओवादी केन्द्रबीच एमालेलाई सभामुख, राष्ट्रपति र माओवादीलाई प्रधानमन्त्री दिने सहमति भएको बताइएको थियो ।
अहिले माओवादी नेताहरू राष्ट्रिय सहमतिमा राष्ट्रपति छान्नुपर्ने बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्