
काठमाडौं । संघीय संसद प्रतिनिधिसभामा इलामका प्रेमप्रसाद आचार्यलगायत देशका विभिन्न ठाउँमा भइरहेका आत्मदाहका घटनाहरुको कारण खोजी गर्न न्यायिक छानविन समिति गठनको माग उठेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले देशका विभिन्न ठाउँमा भइरहेका आत्मदाहका घटनाहरूको कारण पत्ता लगाई त्यस्ता, घटनाको निरुपणकालागि न्यायिक छानबिन समिति बनाउन माग गर्नुभएको हो ।
नागरिकको सामान्य जनजीवनसमेत चल्न नसक्ने अवस्था हुनु र त्यही कारण नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थिति हुनु लज्जास्पद भएको भन्दै सांसद सिंहले आगामी दिनमा आत्मदाहका घटना दोहोरिन नदिन सरकार प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले हालै आत्मदाह गरेका उद्यमी प्रेम आचार्यप्रति कसैले चिन्ता नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले सप्तरीका रामदेव मरिकको आत्महत्याको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतले प्रमेप्रसाद आचार्यको जस्तो नियति कसैले पनि भोग्नु नपर्ने परिस्थिति बनाउन सरकारसँग माग गर्नुभयो ।
नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका सांसद गगनकुमार थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको भन्दै बैंकको ॠण ले थिचिएका साना किसानहरूले अप्रिय निर्णय नगरुन्जेल कुर्ने हो भन्दै प्रश्न गर्नुभयो ।
बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानमाथि नै प्रधानमन्त्री र मन्त्रीहरूको अभिव्यक्ति बाझिएकोप्रति असन्तुष्टि जनाउनुभयो । राप्रपाका मन्त्रीहरुतर्फ लक्षित गर्दै सांसद पन्तले संविधानअनुसार मन्त्रीमा शपथ लिएका मन्त्रीहरूले व्यवस्थामाथि प्रश्न उठाउन नमिल्ने जिकिर गर्नुभयो ।
राप्रपाका महामन्त्री समेत रहनुभएका सांसद डा.धवलशमशेर जबराले आफूहरुलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै लागि जनताले मत दिएकोले एजेण्डालाई लिएर नहेप्न चेतावनी दिनुभयो ।
नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सरकारमै रहेका दलका नेताहरुको अभिव्यक्तिले संविधान खतरामा पर्न सक्ने देखिएको भन्दै संविधान कार्यान्वयन,सम्वद्र्धन र संरक्षणमा जोड दिनुभयो ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले राजनीतिक स्थिरता, सुशासन र भूराजनीतिक दबाबको बीचमा मुलुकलाई अगाडि बढाउन नयाँ सोचको आवश्यकता रहेको भन्दै वर्तमान चुनौतिको सामना गर्न राष्ट्रिय सहमति आवश्यकता रहेको बताउनुभयो ।
एमालेका सांसद एकनाथ ढकालले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउँदै विस्तृत शान्ति सम्झौताको सक्कलप्रति कहाँ छ भनेर प्रश्न गर्नुभयो ।
सांसद अनिशा नेपालीले दाङदेखि रोल्पा पुग्ने सडक स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई रुलिङ गर्न सभामुखसंग आग्रह गर्नुभयो ।
नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले दोलखाका गाउँमा बाँदरले उठिबास लगाएको भन्दै क्षतिको अध्ययन गर्ने र राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्