१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र ‘ह्यारी की प्यारी’को प्रिमियरमा तारिफ


234
Shares

काठमाडौं । नेपाली चलचित्र ‘ह्यारी की प्यारी’को प्रिमियर शो भएको छ । प्रिमियर शोमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ ।

काठमाडौंको एक हलमा चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै चलचित्र निर्देशक डा.कपिल रिजालले आगामी दिनमा चलचित्र क्षेत्रलाई झनै राम्रो दिने र आफ्नो ब्यानरबाट चलचित्र बनाउने कुरामा निरन्तरता दिइरहने बताएका छन् । उनले चलचित्रमा आफूले सानो कोशिस गरेको र सबैले साथ दिनुहुनेमा विश्वस्त रहेको बताएका छन् ।

त्यस्तै, कलाकार केदार घिमिरेले चलचित्र एकदमै उत्कृष्ट बनेको बताए । घिमिरेले चलचित्र अभिनय र कथावस्तुका हिसावले राम्रो भएको भन्दै प्रसंशा गरे । त्यस्तैगरी वरिष्ठ कलाकाकर सन्तोष पन्तले चलचित्रमा बनाइएको हिरो मनको हिरो रहेको बताएका छन् । पन्तले चलचित्रमा कलाकारको अभिनय पनि उत्कृष्ट रहेको बताएका छन् ।

चलचित्रमा अभिनेत्री रहेकी साम्रज्ञीराज्यलक्ष्मी शाहले चलचित्र हेर्दा आफूलाई धेरै नै खुशी लागेको र चलचित्र सबै दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताएकी छन् त्यस्तै अभिनेता रहेका जितु नेपालले आफूलाई चलचित्र हेरिसकेपछि आएको प्रतिक्रियाबाट धेरै नै खुशी लागेको बताए ।

त्यस्तै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म नराम्रो भएपनि राम्रै भन्नुपर्ने होला भन्ने सोच बनाएर आएको भएपनि सोचेको भन्दा धेरै राम्रो रहेको बताएका छन् ।

वरिष्ठ कलाकार किरण केसी, शिवहरि पौडेल, अभिनेता रमेश उप्रेती, कलाकार दीपकराज गिरी, कलाकार दीपाश्री निरौला, कमेडियन हिमेश पन्तलगायतले फिल्म एकदमै उत्कृष्ट रहेको र सन्देशमुलक फिल्म रहेको बताए ।

चलचित्र ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट देशभर प्रदर्शन हुँदैछ । चलचित्रमा अभिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ ।

चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भुमिका रहेको छ । डा. कपिल रिजालको प्रस्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

चलचित्रमा डा.भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ ।

सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।