
कठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको छैटौं संस्करण शनिबारदेखि सुरु भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड आमनेसामने हुँदैछन् । प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लब गरी ६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । करिब ४० लाखको अनुमानित खर्च रहेको प्रतियोगिताका विजेता टोलीले नगद ३ लाख रूपैयाँ पुरस्कार पाउने भएका छन् ।
त्यस्तै, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने भएकाे छ । त्यस्तै, विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।
एक उदयीमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिने भएकाे छ । यसैगरी छैटौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित समेत गरिने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्