२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कञ्चनपुरमा विमानस्थल निर्माणको काम सुरू


104
Shares

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको काम सुरू भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः सुरु भएको हो। जग्गा प्राप्तिको मौखिक सहमति भएपछि निर्माणको काम सुरु भएको मझगाउँ विमानस्थलका आयोजना प्रमुख मीनराज ओझाले जानकारी दिनुभयो । निकुञ्ज प्रशासन र नेपाली सेनाले काम नरोक्ने सहमति भएको उहाँको भनाइ छ । जग्गाको प्राप्तिका लागि पनि मन्त्रालयबाट निर्णय गर्ने प्रक्रियामा रहेको प्रमुख ओझाले जानकारी दिनुभयो ।

अहिले विमानस्थलको लम्बाइ करिब १ हजार मिटर रहेकाे छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण भइरहेको छ । रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जमिनसहित जोड्दा विमानस्थलको लम्बाई १ हजार ५ सय २५ मिटर पुग्छ । कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जङ्गबहादुर मल्लले विमानस्थलको आवश्यकता रहेकाले विमानस्थल निर्माणको काम समयमा सक्नुपर्ने बताउनुभयाे ।

विमानस्थल बनेपछि गड्डाचौकी नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकलाई सहज हुने मल्लको भनाइ छ। कञ्चनपुरको महाकाली नदीमा पक्की पुल र दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेकाले राजधानीसँगको सहजताका लागि विमानस्थल आवश्यक रहेको स्थानीयको पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोन लगायतको काम हुने भएकाे छ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ ।