
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति, त्यसो नहुँदा जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग मिलेर जाने निर्णय गरेको छ ।
शनिबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चुनावसम्म जाँदा सकेसम्म सहमतिको पक्षमा उभिने बताउनुभयो ।
कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको उहाँको भनाई छ । यदि सहमति नभए विचार र कार्यदिशा मिल्ने दलसँग मिलेर अघि बढ्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो । अहिलेसम्म एमालेलाई बाहिर राखेर सहमतिको कुरा नगरिएको भन्दै उहाँले सरकारलाई सहयोग गर्ने दलहरुबीच पनि छलफल हुने बताउनुभयो ।
बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले आगामी दुई महिना सबै नेताहरु फिल्डमा नै गएर पार्टीको वस्तुस्थिति बारे अध्ययन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले पार्टी संगठन सदृढीकरणका लागि अभियान चलाउने जानकारी दिनुभयो ।
उपाध्यक्ष महराले पार्टी संगठन सुदृढीकरण अभियानमा सबै तहका कमिटी परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्