
काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सार्दै आएका विषयमा सबै पक्षसँग छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने प्रधानमन्त्री दाहालको भनाइ थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज भएको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सबै समस्या समाधान हुने बताउनुभयो ।
गृह मन्त्रालय आफैले पाउनुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आएको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि सो पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारीसमेत खोसिएको थियो ।
पुनः नागरिकता प्राप्त गरेलगत्तै लामिछानेले आफू पुनः गृहमन्त्री हुनुपर्ने बताउँदै आउनुभएको छ । लामिछानेको मागमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमति जनाउँदै आए पनि प्रधानमन्त्री दाहालले सबै पक्षसँग कुरा गरेर मात्र निर्णय हुने बताउनुभएको छ ।
रास्वपाले शनिबारसम्म आफूलाई गृहमन्त्रालयको जिम्मेवारी दिन अल्टिमेटम दिएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रमा उक्त विषयमा छलफल गर्ने र आफ्नो कुरा राख्ने रास्वपा केन्द्रीय समिति र संसदीय दलको बिहीबारको संयुक्त बैठकले गरेको निर्णय हो । तर, यसबीचमा संयन्त्रको बैठकसम्म बसेको छैन ।
प्रतिक्रिया दिनुहोस्