२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आशा गरिएको वैकल्पिक शक्ति नै आलोचित


546
Shares

काठमाडौं । जुन प्रवृतिको विरोध गर्दै वैकल्पिक पार्टीको रुपमा उदायको राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेमाथि त्यही प्रवृत्ति पछ्याएको भनेर आलोचना हुने गरेको छ । राजनीति बाहिर रहँदा सुशासन, नैतिकताजस्ता विषयमा औंलो ठड्याउँदै आएपनि राजनीतिमा प्रवेश गरिसकेपछि पनि पदीय आशक्तिले वैकल्पिक राजनीति गर्ने र गर्न चाहनेको छवि धमिलो बनाएको छ ।

पार्टी सभापतिदेखि सासंद र गृहमन्त्रीको पद समेत नरहने सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले विगतमा आफुले गरेका प्रतिवद्धता र राजनीतिक दलहरुलाई सिकाएको नैतिकताको पाठ पदको लोभमा आफैले बिर्सिनु भएको छ ।

मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक भएको आरोप लगाउँदै नैतिक राजनीति गर्ने भन्दै पार्टी खोलेका लामिछाने अहिले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेको आरोप आमरुपमा लागेको छ । माघ १३ को सर्वाेच्चको आदेशले पदच्युत भएका लामिछानेले प्रक्रिया पुरा नगरी नागरिकता लिएर गैरसंसद नै भएपनि पुनः गृहमन्त्री नै हुनुपर्ने हठ राख्नुभएको थियो ।

लामिछाने जुन प्रवृत्तिको विरोध गरेर राजनीतिमा स्थापित हुनुभयो अहिले उहाँका हरेक क्रियाकलाप पुरानै ढर्रामा अघि बढेको देखिएको छ । गैरसांसद मन्त्री बनाउने, धेरै उपप्रधानमन्त्री बनाएर भीड लगाएको भन्दै आक्रोश पोख्ने लामिछाने चुनाव जिते लगतै त्यही उपप्रधानमन्त्रीको लाईनमा उभिनुभयो । सरकार छोड्ने पार्टीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पनि लामिछानेमा मिडियाप्रति पूर्वाग्रह देखिन्थ्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रालय कसैलाई नदिने प्रतिवद्धता जनाएपछि पुन त्यही पद पाउन शीर्ष नेताहरुको घर दैलो चाहारेको विषयले लामिछानेको राजनीतिक निष्ठालाई कमजोर बनायो ।

जनतासँग भावनात्मक कुरा गरेर पाएको भोट र जनताले धेरै अपेक्षा सहित संसदमा पठाएका लामिछाने अहिले जनताको पक्षमा बोल्नेभन्दा पनि आफ्नो स्वार्थ पुरा गर्न मात्र केन्द्रति भएको भनेर टिकाटिप्पणी भएको छ ।

चुनाव सकिएको दुई महिनामै नेपाली राजनीतिमा सगुन आउने विश्वास गरिएको राजनीतिक दल र पात्रबाट प्राप्त अनपेक्षित परिणामले अन्ततः निरासकै बीउ रोपेको छ । यसलाई नजिर हैन, पाठ ठानेर अघि बढ्नुको विकल्प छैन । स्वयं रास्वपाका लागि पनि यो समयले लिएको अग्नि परीक्षा हो ।