
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सक्षम, व्यवसायिक सरकारी वकील, महान्यायाधिवक्ताको मातहतमा रहने अन्य कर्मचारीहरुको पारिश्रमिक सुविधा र सेवाका अन्य शर्त सम्बन्धी छुट्टै कानूननको आवश्यक्ता रहेको बताउनुभएको छ ।
सोमबार महान्यायाधिवक्ताको कार्यालय अवलोकन गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानून बनाउन नेपाल सरकारको तर्फबाट विशेष पहल गर्ने विश्वास व्यक्त गर्नुभयोे । उहाँले यस पटक विगतको भन्दा धेरै राम्रा कामहरु गर्ने इच्छा रहेकाले सेवा सुविधाको विषयमा पनि राम्रो काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो ।
प्रधानमन्त्री दाहालले नेपाल सरकारका विभिन्न मन्त्रालय एवं सरकारी निकायबीच कानूनी र कार्यविधिगत एक रुपता कायम गर्न तथा सरकारबाट सम्पादन गरिएका कार्यउपर अदालतमा प्रतिरक्षा गर्ने विषयमा समन्वय गर्नको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारी वकीलको इकाई र दरबन्दी कायम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सिंहदरबारमा त्यसखालको इकाई राख्ने कुरालाई उच्च प्राथमिकता दिने पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले नेपालको प्रचलित कानूनले महान्यायाधिवक्ता एवं सरकारी वकीलबाट हिरासत, कारागार, बालसुधकार गृहमा रहेका व्यक्तिको मानवअधिकारको अवस्थाको अनुगमन गरी सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिने व्यवस्था गरेपनि महान्यायाधिवक्ताको कार्यालयबाट कारागार, हिरासत र बालसुधार गृहको अनुगमन गरी तयार गरिएको प्रतिवेदनबाट त्यहाँ रहेका व्यक्तिको मानव अधिकार अवस्था सन्तोषजनक नदेखिएको बताउनुभयो ।
उहाँले कसुरको अनुसन्धान, अभियोजन र प्रतिरक्षाको कार्यलाई थप प्रभावकारी बनाउन र विधि विज्ञान प्रयोगशालालाई प्रदेश तहसम्म विस्तार गर्नका साथै तिनको दस्तरोन्नति गर्नका लागि महान्यायाधिवक्ताको कार्यालयबाट गरिएका प्रयासमा नेपाल सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।
प्रधानमन्त्री दाहालले नेपालका कारागार, बालसुधार गृह, हिरासतको विस्तार र सेवासुविधा वृद्धि गर्ने नेपाल सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले अनुसन्धानलाई अझ बढी वस्तुगत, वैज्ञानिक, प्रमाणमा आधारित बनाई त्यस्ता प्रमाणका आधारमा अभियोजन र प्रभावकारी प्रतिरक्षाका लागि विधि विज्ञान प्रयोगशालाको विस्तार र विकास गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारी वकीलको कार्य चापको आधारमा दरबन्दी संरचना पुनरावलोकन गर्नुपर्ने आवश्यक्ता देखिएको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्