
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकले उहाँलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २० ७५ को नियम ८ बमोजिम सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।
आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँले २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गर्नु भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक साेमबार नै २१ मिनेटपछि बस्ने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्