
काठमाडौं । चिया निर्यातबाट बर्सेनी ३ करोड ८० लाख विदेशी मुद्रा आर्जन हुँदै आएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक २ करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको हाे । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा २७ हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । यसमध्ये झापामा मात्र १० हजार ५ सय हेक्टरमा खेती छ । नेपालमा चिया उत्पादन, प्रशोधन तथा प्याकेजिङ गर्ने ३० अर्थोडक्स र ३८ सीटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन् ।
मुलुकमा १ सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा रहेको उहाँले बताउनुभयाे । बोर्डको तथ्यांकमा मुलुकमा १ सय ६० वटा भन्दा बढी चिया बगान छन् । १५ हजार भन्दा बढी साना किसानले चियाखेती गर्दै आएका छन् । ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बोर्डको दावी छ ।
प्रमुख अधिकारीले देशभरमा १७ हजार भन्दा बढी कृषक चियाखेतीमा आबद्ध रहेको बताउनुभयो । पहाडी भू–भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको छ । झापामा उत्पादित सीटीसी चियाका लागि समेत ‘ट्रेडमार्क’ जारी गर्ने कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयाे ।
चिया क्षेत्रमा वर्षौंदेखि पहल गरेपनि ‘अक्सन सेन्टर’ सञ्चालनमा आउन नसक्दा चिया सरोकारवाला चिन्तित भएका छन् । प्रभावकारी गुणस्तरीय ट्रेडमार्क प्रमाणिकरण, चियाको गुणस्तरमा एकरुपता र गुणस्तरीय हरियो चिया पत्ती टिपाइमा प्रोत्साहन कार्यक्रम लागू गर्न सके चिया क्षेत्रलाई राहत हुने नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्