
काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन बुधबार हुँदैछ ।
प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने बताइएको छ ।
माघ ११ गते राष्ट्रिय सभा सदस्य पदका लागि तीन दलबाट तीन जनाको उम्मेदवारी दर्ता भएको थियो । सत्तारूढ दलमध्येका नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
सत्तारूढ एमालेका उम्मेदवार कुमार दसौदी र प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्य दुवै रोल्पाका हुन् भने नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिष्पर्धामा हुुनुहुन्छ ।
एमालेका केन्द्रीय सदस्य दसौदीको समर्थकमा राप्रपाकी प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल रहनुभएको छ । रोल्पा पूर्व जिल्ला सभापति रहेका कांग्रेसका आचार्यको प्रस्तावकमा दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी रहनुभएको छ ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका रायको प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी रहनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
गत असोज २३ गते नेकपा (एमाले) बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ ।
लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन् । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा कुल १०९ पालिकाहरु रहेका छन् । तीमध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ । एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थानमा जितेका छन् ।
८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका छन् । यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन् । तीन जनाले जिते पनि फेरि एक जना माओवादी केन्द्रमै फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्