
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिँदै हुनुहुन्छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम चरणमा विश्वासको मत लिन लाग्नु भएको हो ।
सत्ता गठबन्धनअन्तर्गत नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा (एमाले) का रावललाई नागरिक उन्मुक्तिले भने विश्वासको मत नदिने संकेत गरेको छ ।
नागरिक उन्मुक्तिले प्रदेश सरकारलाई विश्वासको मत दिन टीकापुर घटनाका राजबन्दीको रिहाइ र मुद्दा फिर्तालाई प्रमुख शर्त बनाएको थियो । तर, १० वर्ष अगाडि दोषी ठहर भएका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि उक्त पार्टी वर्तमान सरकारलाई विश्वास गर्ने अवस्थामा छैन ।
उन्मुक्तिका सात जना प्रदेशसभा सदस्य मंगलबार रेशम चोधरीलाई भेट्न काठमाडौं डिल्लीबजार कारागार पुगेका थिए । कारागारमा चौधरी र सात जना सांसदबीच घण्टौं छलफल चल्यो । छलफलमा रेशमले आफ्ना सांसदलाई एमाले नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन आग्रह गरेको बताइएको छ ।
कारागारमा भएको छलफलमा रेशमले आफू रिहा नहुँदासम्म सरकारमा नजान र विश्वासको मत पनि नदिन प्रदेशसभा सदस्यलाई आग्रह गरेको स्रोतको दाबी छ ।
मुख्यमन्त्री रावलले भोलि बिहीबारसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । सोहीअनुसार बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
नागरिक उन्मुक्तिले विश्वासको मत नदिए नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकार ढल्ने लगभग पक्का छ ।
रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा विश्वासको मतका लागि मुख्यमन्त्री रावललाई कम्तिमा २७ जना प्रदेशसभा सदस्यको साथ आवश्यक छ ।
प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र एक जना स्वतन्त्र भने विपक्षमा छन् । कांग्रेसका १९ र एकीकृत समाजवादीका चार जना प्रदेशसभा सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्