
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता बनाउन नहुने माग गरिएको रिटमा बुधबार सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न मंगलबार आदेश दिएसँगै बुधबारका लागि पेशी तोकिएको हो ।
अधिवक्ता विमलप्रसाद पोखरेलले माघ १८ गते रिट दायर गरेसँगै सो विषयमा अदालतमा प्रश्न उठाउन नपाइने र निवेदकलाई प्रस्तुत निवेदन गर्ने हकदैया समेत नरहेको भन्दै सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध अधिवक्ता पोखरेलले निवेदन दिनुभएको थियो ।
न्यायाधीश प्रधानले रिट दर्ता गरी सुनुवाइका लागि पेश गर्न आदेश दिएसँगै बुधबार सुनुवाइ हुने भएको छ ।
अधिवक्ता पोखरेलले संसद सचिवालयविरुद्ध रिट निवेदन दिनुभएको थियो । रिटमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर विपक्षी दलको हैसियत गुमाएकाले देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय खारेज गर्न माग गरिएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण देउवालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुनसमेत रोक लगाउन माग गर्दै विपक्षी दलको कुनै पनि भूमिकामा नदिन रिटमा भनिएको छ ।
यस्तै, संसद सचिवालयबाट कुनै पनि सेवा सुविधा नदिन समेत निवेदकको माग छ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत पुस २६ गते विश्वासको मत दिएपनि सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।
संसद सचिलायले कांग्रेस संसदीय दलका नेता देउवालाई नै विपक्षी दलको प्रमुख नेताको सेवा सुविधा, सुरक्षा र कार्यालय पनि उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्