
काठमाडौं । अभिनेता प्रदीप खड्काले चलचित्र ‘कामिनो’को टिजर पोस्टर सार्वजनिक गर्दै औपचारिक रुपमा आफूले उक्त प्रोजेक्ट काम गर्न लागेको घोषणा गरेका छन् ।
खड्काले सामाजिक सञ्जालमा चलचित्रको टिजर पोस्टर सार्वजनिक गर्दै औपचारिक रुपमा जानकारी दिएका हुन् । चलचित्र निर्माण टिमले फिल्ममा उनको मुख्य भूमिका रहने जानकारी गराउँदै थिम पोस्टर सार्वजनिक गरेको थियो । तर, खड्का भने मैन नै रहेका थिए ।
चलचित्रबारे जानकारी दिनुअघि खड्काले भारतको मुम्बईस्थित नासिक ताम्रकेश्वर मन्दिरमा ग्रहशान्तिको पूजा पनि गरेका छन् । पूजापछि सामाजिक सञ्जालमा चलचित्रको पोस्टर सेयर गर्दै आफूले काम गर्न लागेको जानकारी गराएका छन् । उनले चलचित्रको लागि पूजा गरेको बताएका छन् । खड्काले इन्स्टाग्राम स्टोरीमा उक्त पूजाको भिडियो सेयर गरेका छन् ।
दीपक वलीले निर्देशन गर्ने यस चलचित्रमा दक्षिण अमेरिकाबाट जोखिमपूर्ण यात्रा गरेर अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथा समावेश छ । महेश दवाडीको लेखन रहेको चलचित्रमा कृएटिभ डिरेक्टर पूर्ण लामा र कार्यकारी निर्माता सुनील बिष्ट गौली रहेका छन् । चैत्र तेश्रो साताबाट छायांकन सुरु गरिने यस चलचित्रलाई सौरभ लामाले छायांकन गर्ने छन् ।
एक्सिस नेपाल फिल्म्सले निर्माण गर्ने यस चलचित्रलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा निर्माण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्