
काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
आयोजना प्रभावित स्थानीय र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री गर्न लागेको हो ।
कम्पनीले जारी पूँजीको ३४ करोड रुपैयाँको ३४.७१ प्रतिशतले दरले हुने आउने ११ करोड ८० लाख रुपैयाँ बराबरको शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत अर्थात ३ करोड ४० रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरिसकेको छ । बाँकी रहेको ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये पनि १० प्रतिशत अर्थात ८४ लाख रुपैयाँ बराबरको ८४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २ प्रतिशत अर्थात १६ हजार ८०० कित्ता शेयर कम्पनीका कार्यरत कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
यो आईपीओ बिक्री अवधि छिटोमा फागुन २ गतेसम्म र ढिलो अवधि फागुन १२ गतेसम्म तोकिएको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै लगानीकर्ताले सि–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
हाल कम्पनीको अधिकृत तथा जारी पूँजी ३४ करोड रुपैयाँ र चुक्ता पूँजी २२ करोड २० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणमा आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३४ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्