१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा


97.916k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा पर्नुभएको छ ।

थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।

सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको केसीले जानकारी दिनुभयो । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिने भएको छ ।

ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा आवद्ध हुनुहुन्छ ।

यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।