२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


श्रीसदनसँगैको ‘ऐश्वर्य बगैंचा’ सर्वसाधारणका लागि खुल्दै


130
Shares

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह र रानी ऐश्वर्य राज्यलक्ष्मी शाहले आफैंले स्याहारसुसार गर्ने गरेको ‘ऐश्वर्य बगैंचा’ सर्वसाधारणका लागि खुला हुने भएको छ । नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले यो वर्षभित्र सो पार्क खुला गर्न लागेको हो ।

विशेष गरी रानी ऐश्वर्यले आफ्नो सोखका लागि निर्माण गरेको सो बगैंचा हाल खाली चौर जस्तो अवस्थामा रहेको छ । उक्त बगैंचामा रानी ऐश्वर्य र राजा वीरेन्द्रले रोपेका दुर्लभ मानिएको फूल र बोटबिरुवा पुनः रोपिने जानकारी दिँदै समितिका प्रमुख डा. सुरेशसुरस श्रेष्ठले भन्नुभयो– ‘वार्षिक कार्यक्रमअनुसार बगैंचा निर्माण सुरू गरिएको छ । श्रीसदन परिसरमा रहेको सो बगैंचा सफाइ गर्ने काम भइरहेको छ । समितिले बगैंचामा रहेका सबै बोटबिरुवा र फूलको संरक्षण सुरु गरेको छ ।’

श्रीसदन खुला भएको करिब दुई वर्षपछि ऐश्वर्य बगैंचा खुला गर्न लागिएको हो । उहाँले यो वर्षको अन्त्य सम्ममा बगैचा खुला गर्ने तयारी भैरहेको बताउनुभयो । सो बगैंचामा फुर्सदको समयमा स्वर्गीय राजा वीरेन्द्र र ऐश्वर्यले आफैं हेरचाह गर्ने गर्नुभएको थियो ।

सर्बसाधारणले श्रीसदन अवलोकन गरेपछि ऐश्वर्य बगैचा घुम्न पाउने गरी तयारी थालेको छ । ऐश्वर्य बगैंचाले श्रीसदनसँगै ग्यारेजसँग जोडिएको करिब दुई रोपनी क्षेत्र ओगटेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।