१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, शपथ आज


234
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री लिला गिरीले शनिबार साझेदार ४ दलका ७ जनालाई मन्त्री बनाउँदै मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।

मन्त्रिमण्डल विस्तारसँगै गत पुस २७ गते विना विभागीय मन्त्री बनेका २ जना सहित ९ जना मन्त्रीको जिम्मेवारी पनि तोकिएको छ ।

पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना मन्त्री बनेका छन् । जस अनुसार माओवादी केन्द्रबाट जोखबहादुर महरालाई आर्थिक मामिला, इन्द्रजित थारुलाई भौतिक पुर्वाधार विकास, कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य, चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा शहरी विकास, दुर्गाप्रसाद चौधरीलाई वन तथा वातावरण र तुलसीराम शर्मालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकी प्रसाद यादवलाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय नपाउने भएपछि शनिबार राजीनामा दिएकी माओवादीकी कृष्णा केसीलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

सरकारलाई समर्थन गरेको जसपा तत्काल सरकारमा नआएको भएपनि जसपाका लागि एउटा मन्त्रालय दिने गरी मन्त्रिमण्डल विस्तार गरिएको बुझिएको छ । नागरिक उन्मुक्ति पार्टी भने तत्काल सरकारमा नजाने अडानमा छ ।

नवनियुक्त मन्त्रीहरुको सपथ आइतबार दिउँसो १ बजेका लागि तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।