
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पूँजीबजार लगानीकर्ताको अपेक्षाअनुसार माग सम्बोधन हुन नसकेको लगानीकर्ताहरुले बताएका छन् ।
गत शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा पूँजीबजारमा देखिएको नीतिगत समस्या सुधार हुने अपेक्षा लगानीकर्ताको रहेपनि अपेक्षानुसार नभएको भन्दै उनीहरुले गुनासो गरेका हुन् । गत आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर मार्जिन धितोकर्जामा लागू भएको ४-१२ करोडको सीमा खारेज हुनुपर्छ भन्ने माग लगानीकर्ताहरुको रहेको थियो ।
तर चालू आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोडको सीमा खारेज भएपनि १२ करोडको सीमा कायम रहेकाले त्यो पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा हट्ने अपेक्षा भएपनि राष्ट्र बैंकले सम्बोधन नगरेर शेयर लगानीकर्तालाई राष्ट्र बैंकले उपेक्षा गरेको आरोप लगाएका छन् । नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष तथा शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले शेयर लगानीकर्ताको माग मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पनि राष्ट्र बैंकले सम्बोधन नगरेर उपेक्षा गरेको बताउनुभयो ।
उहाँले अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीतिहरु अर्थतन्त्रमा कहीं सहज हुँदा पुनारावलोकन हुन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा र चासो भएपनि अपेक्षा अनुसार नआएको गुनासो गर्नुभयो । उहाँले नेपालका पूँजीबजारका संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नको लागि राष्ट्र बैंकले कार्यविधि बनाउँदा शेयर लगानीकर्ताको मागलाई सम्बोधन गर्नेमा विश्वास गरेको उल्लेख गर्नुभयो । संचारकर्मीसँग कुरा गर्दै पौडेलले नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको भन्दै व्यक्तिगत लगानीकर्ताको तुलनामा ६ देखि ७ प्रतिशत पनि नरहेकाले सरकारले प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले ४-१२ करोडको नीतिले व्यक्तिगत लगानीकर्तालाई त्यस्तो असर नगरेको बताउनुभयो । उहाँले अहिले पुँजीबजार न्यून बिन्दुबाट माथिल्लो बिन्दुमा प्रवेश गरिरहेको अवस्थामा र बहुसंख्यक व्यक्तिगत लगानीकर्ता रहेको कारणले शेयर बजारमा प्रभाव नपर्ने बताउनुभयो । उहाँले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पूँजीबजारमा संस्थागत लगानीकर्तालाई केही प्रोत्साहन गरे मात्रै पूँजीबजारको दिगो विकास हुनसक्ने बताउनुभयो ।
त्यस्तै, नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले शेयर लगानीकर्तालाई उपेक्षा गरेको बताउनुभयो । उहाँले शेयर लगानीकर्ताले ४ वटा माग राख्दा समेत राष्ट्र बैंकले सम्बोधन नगर्नु शेयर बजारप्रति उपेक्षा भएको आरोप लगाउनुभयो । उहाँले आफूहरुले राखेको ४-१२ को नीतिमध्ये ४ हटिसकेको अवस्थामा १२ को क्याप पनि हटाउन माग गर्दै अर्थमन्त्री र गभर्नरलाई भेटेर विशेष आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गर्नुभयो ।
उहाँले शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनुपर्ने भन्दै राष्ट्र बैंक निर्देशिकामा सम्बोधन गर्ने आशा रहेको पनि बताउनुभयो । उहाँले लगानीकर्ता संघहरुले १२ करोड (१२ करोड) सम्मको शेयर कर्जाको सीमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता गरिनुपर्ने माग कायम रहेको बताउनु भयो । अध्यक्ष पोखरेलले विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सरकारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएपश्चात पूँजीबजारमा नीतिगत सुधार हुन्छ भन्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले शेयर लगानीकर्ता अहिले निराशा हुनुपर्ने अवस्था भने नरहेको बताउनुभयो । उहाँले शेयर लगानीकर्ताले चाहेको र बजार बुझेको अर्थमन्त्री भएकाले अर्थमन्त्रीले पूँजीबजारमा रहेका नीतिगत समस्यालाई समाधान गर्नेमा आशा रहेको उल्लेख गर्नुभयो । उहाँले मौद्रिक नीतिको समीक्षामा लगानीकर्तालाई सम्बोधन नगर्दैमा लगानीकर्ता निराश भएर बजारबाट भाग्न नहुने बताउनुभयो ।
उहाँले पूँजीबजार लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो । उहाँले अर्थमन्त्रीले पूँजीबजारलाई दीर्घकालीन रुपमा व्यवस्थित बनाउँदै बजारका नीतिगत समस्यालाई सुधार गरे मात्रै पूँजीबजारको दीर्घकालीन विकास हुने बताउनु भयो । उहाँले पछिल्लो समय राष्ट्र बैंक पूँजी बजारप्रति नकारात्मक रहेको भन्दै पूँजी बजारलाई नियमन गर्ने बहानामा नियन्त्रण गरेको आरोप लगाउनुभयो । उहाँले पछिल्लो समय धेरै निराश साना लगानीकर्ता भएको बताउनुभयो ।
नेपालको पुँजीबजार राजनीतिक इगोको कारण पनि धरासायी बनाउने काम भइरहेको अध्यक्ष पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्