२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संखुवासभाकाे चैनपुरका स्थानीय आफैं विद्यालय बनाउने अभियानमा जुटे


1.001k
Shares

संखुवासभा । विद्यालय बनाउन दाताको मुख ताक्ने प्रचलन बढिरहेका बेला संखुवासभाको चैनपुर लामिचौर भ्यागुते ढुंगाका स्थानीय भने आफैं विद्यालय बनाउने अभियानमा जुटेका छन् ।

विपन्न समुदायका बालबालिका अध्ययन गर्ने बालविकास आधारभूत विद्यालय बनाउन गाउँलेहरु एकजुट भएका हुन् ।

बालविकास आधारभूत विद्यालय हो यो । यो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पनि महिला लक्ष्मीमाया अधिकारी हुनुहुन्छ । जसले गर्दा यो विद्यालय बनाउन र श्रमदान गर्न पनि महिलाहरुकै तछाड मछाड देखिन्छ । संखुवासभाका स्थानीय वासीन्दा आफ्नो विद्यालय आफैं बनाउने अभियानमा जुटेका छन् ।

अन्यत्र विद्यालय बनाउन दाताको मुख ताक्ने प्रवृति हावी हुँदै गर्दा चैनपुर लामिचौर भ्यागुते ढुंगाका स्थानीय वासीन्दा भने दाताको मुख ताक्ने प्रवृतिलाई निरुत्साहित गर्दै श्रमदानमा जुटेका हुन् । दुर्गममा रहेका कारण पनि यस विद्यालयको भौतिक सुधारका लागि कसैको ध्यान पुग्न नसकेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र तामाङ बताउनुहुन्छ ।

गाउँलेहरुलाई विद्यालयको भिरालो जमिन समस्याउन र भीरका ढुंगा निकालेरसम्म बनाउन भ्याई-नभ्याई छ । आफ्ना छोराछोरीलाई गाउँकै विद्यालयमा पढाउने सपना बोकेका गाउँलेहरु बिहानै कुटो, कोदालो र झ्याम्पल लिएर श्रमदान गर्न व्यस्त देखिन्छन् ।

आर्थिक अवस्था अत्यन्त दयनीय भएका कारण विद्यालयलाई चन्दा लगायतको आर्थिक सहयोग गर्न सक्दैन । बरु विभिन्न साँस्कृतिक कार्यक्रम मार्फत चन्दा संकलन गरेर भएपनि विद्यालयलाई बचाउनेमा छन् उनीहरु । विद्यालयको ग्राउड सम्याउन पुरुष भन्दा बढी महिलाको सहभागिता छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीमाया अधिकारीले विद्यालयमा सक्दो श्रमदान गरी नमूना विद्यालय बनाउने अठोट रहेको बताउनुहुन्छ ।

आफ्नो ठाउँमा आफैं पसिना बगाउने, यसको फल बालबालिकाले नै प्राप्त गर्ने हो । त्यसैले श्रमदान गर्न कसैले कञ्जुस्याई नगरेको अधिकारीको भनाइ छ । त्यसो त श्रमदान गर्न गाउँलेहरु उत्साहित मात्र छैनन, शिक्षाप्रति निकै जागरुक पनि हुन थालेका छन् ।

विद्यालय बनाउने गाउँलेहरुको हुटहुटी देखेर विद्यालय निर्माणका लागि अहिले छिमेकी विद्यालयले पनि स्रमदानमा सहयोग गर्न थालेका छन् । अत्यन्त विपन्न समुदायका बालबालिका पढ्ने भएका कारण पनि विदेशबाट समेत यो विद्यालयलाई सहयोग आउन थालेको छ । बालबालिकाको सरसफाई, कपाल काट्ने, नङ काट्ने र स्थानीय उत्पादनको दिवा खाजाको व्यवस्थाले यो दलित बस्तीका बालबालिकाको विद्यालयप्रतिको आकर्षण झनै बढ्दै गएको छ ।

विद्यालयको भौतिक, व्यवस्थापकीय क्षेत्रमा सुधार मात्र हैन र गुणस्तरी शिक्षण सिकाईमा समेत विद्यालय अब्बल बन्दै गएको छ । गाउँले मिलेर श्रमदानमा विद्यालय बनाउने र छोराछोरीको भविष्य बनाउने उनीहरुको सपना साच्चै अरु विद्यालयका लागि समेत अनुकरणीय बन्न सक्छ ।