
ललितपुर । ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर पुल निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ ।
ग्वार्को चोकमा गत शनिवारबाट फ्लाइ ओभर निर्माण कार्य शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो । फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिएपनि सडक जाम कम हुन सकेको छैन ।
चक्रपथको बिस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ । चक्रपथ बिस्तार आयोजनाअन्तर्गत बिस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ । जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो । ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ । कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ ¥याम्प निर्माण गरिनेछ । शुरूमा ब्यारेकेडहरू राखेर काम शुरू गरिनेछ ।
उपत्यकाको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो । ‘फ्लाइओभर’ निर्माण हुने स्थानमा रहेको सडकको कालोपत्रे उप्काउन थालिएको छ । ‘फ्लाइओभर’ को निर्माण कार्य सम्पन्न नहुञ्जेलसम्म दैनिक ग्वार्काे चोक हुँदै आवत जावत गर्ने सवारी साधनलाई ट्राफिक जामका कारण केही समस्या पर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्