९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सिन्धुलीको सिद्धिगणेश मन्दिरमा भक्तजन बढ्दै


234
Shares

सिन्धुली । सिन्धुलीको निवुवाटारमा रहेकाे सिद्धिगणेश मन्दिरमा प्रत्येक मंगलबार पूजा अर्चना गर्ने भक्तजनकाे संख्या बढ्दै गएकाे छ ।

मन्दिरमा पूजा अर्चना गर्न सिन्धुलीमाडी लगायत आसपासका स्थानहरुबाट भक्तजनहरू आउने गरेका हुन् । सिन्धुली र रामेछाप जिल्लाका सर्वसाधरणहरुले प्रत्येक मंगलबारका दिनमा सिद्धिगणेश मन्दिरलाई गरेको भाकल बुझाउन पूजा सामग्रीहरु समेत लिएर भक्तजनहरु आउने प्रचलन रहेको छ ।

महाभारत पर्वत श्रृंखलाको दक्षिणी काखमा रहेकाे सिद्धिगणेश मन्दिरमा पवित्र र शुद्ध मनले भाकल र पूजा अर्चना गरे पूरा हुने जनविश्वास रहेकाे छ । केही समय पहिले सिद्धिगणेशको नयाँ मन्दिरको निर्माण भएकाे छ । मन्दिरको निर्माण भएसँगै आसपासका क्षेत्रलाई व्यवस्थित बनाएपछि सिद्धिगणेशको पूजा अर्चना गर्न आउने भक्तजनहरुकालाई सुविधा पुगेको छ ।

सिद्धिगणेश मन्दिरको हाताभित्र सुन्दर झरना र प्राकृतिक मनोरम दृश्य लगायतले भक्तजनहरुलाई सधै आकर्षित गराउने गरेको छ ।