
काठमाडौं । सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले भ्यालेन्टाइन डे कार्यक्रमको सम्झनामा खाना सम्बन्धी अन्तर–कलेज शेफ प्रतियोगिता आयोजना गरेको छ ।
दुई दिन सम्म संचालित सो प्रतियोगिताका सहभागीहरूले खाना सम्बन्धि आफ्नो सिपको राम्रो प्रदर्शन गर्ने मौका पाएका थिए ।
पहिलो दिन, फेब्रुअरी १४ मा सबै सहभागीहरूले घरमा खाना तयार पारेर कलेजमा ल्याएका थिए । जहाँ उनीहरूलाई त्यसलाई पुनः तताउने र स्वादिष्ट रूपमा प्रस्तुत गर्ने अवसर दिइएको थियो ।

लगभग ५८ जना विद्यार्थीहरू सहभागिता रहेको यो प्रतियोगितामा विद्यार्थीहरुले विभिन्न परिकारका खानाहरु प्रस्तुत गरेका थिए । त्यसैगरी दोस्रो दिन फेब्रुअरी १५ मा कलेजको भान्सामा नै विद्यार्थीहरुबीच खाना बनाउने प्रतिस्पर्धा भएको थियो । कार्यक्रमको निर्णायकका रुपमा चर्चित शेफ गोविन्द नरसिंह केसी र विक्रम विक्स थिए।

प्रतियोगितामा पहिलो पुरस्कार इन्टरनेशनल कलिनरी आर्ट्समा स्नातक प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी मिलन थापा मगरले जितेका छन् । त्यसैगरी दोस्रो पुरस्कार डिप्लोमा इन कलिनरी आर्ट्सका विद्यार्थी रविन मानन्धरले पाएका छन् ।
पुरस्कार वितरणसँगै कार्यक्रमको समापनमा निर्देशक रचना थापाले विद्यार्थीको मेहनतको प्रशंसा गर्दै उनीहरुको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्