
काठमाडौं । भारतको उडिसा जगन्नाथपुरीस्थित गाेवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती बिहीबार काठमाडौं आइपुग्दै हुनुहुन्छ ।
महाशिवरात्री पर्वको मूख्य अतिथिको रुपमा उहाँ नेपाल आउन लाग्नु भएको हो ।
दश सदस्यीय टोलीसहित आउने शंकराचार्यले तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिनु हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले महाशिवरात्रिको अघिल्लो दिन अर्थात भोलि शुक्रबारदेखि शिवरात्रिको भोलिपल्टसम्म पशुपतिमा शंकराचार्य पूजन महोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ ।
हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शंकराचार्य मध्ये गाेवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती सबैभन्दा वरिष्ठ हुनुहुन्छ ।
उहाँ जगतगुरू शंकराचार्यका १४५ औं उत्तराधिकारी हुनुहुन्छ ।
यसैबीच, पशुपति क्षेत्र विकास कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।
सोही अनुसार महाशिवरात्रीको व्यवस्थापन गरिएको कोषले जनाएको छ । यस पटक महाशिवरात्रिका दिन ५० जना भक्तजनलाई मात्रै विशेष पूजाको अनुमति दिइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्