
काठमाडौं । ग्यास सिलण्डर बिस्फोट भएर घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ ।
उहाँलाई उपचारको लागि दिउसो १ बजे श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट मुम्बइस्थित नेशनल स्किन बर्न सेन्टरमा लैजाने तयारी गरिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य मोतीलाल भण्डारीले जानकारी दिनुभयो । सरकारले सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजानका लागि तयारी गरेको जनाएको छ । कीर्तिपुर अस्पतालले पनि सांसद भण्डारीको यथोचित उपचारका लागि नेपालमा सहज नभएको भन्दै देश बाहिर सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको छ ।
बुधवार राति काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । उहाँहरुलाई उपचारका लागि कीर्तिपुर स्थित बर्न अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ बर्षीया आमा हरिकलाको भने उपचारका क्रममा बिहिबार बिहान १० बजेर ५७ मिनेटमा क्रममा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्