१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गोंगबु घटना छानबिन गर्न डीआईजी खाँको नेतृत्वमा समिति गठन


91
Shares

काठमाडौं । गत सोमबार गोंगबुमा यातायात मजदुरको आन्दोलनका क्रममा भएको घटना छानबिनका लागि समिति गठन भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिका अन्य सदस्यमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल रहेका छन् ।

ट्राफिक प्रहरीले लगाएको जरिवानाको विरोध गर्दै यातायात व्यवसायीले गरेको प्रदर्शनले उग्र रुप लिँदा प्रहरी वृत्त बालाजुका दुई गाडीमा तोडफोड र आगजनी भएको थियो । अरु सार्वजनिक सम्पत्तिमा पनि क्षति पुगेको थियो ।

घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।