१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कांग्रेस नेता भण्डारीको आज मुम्बईमा शल्यक्रिया गरिँदै

भण्डारीको अवस्था ‘स्थिर तर गम्भिर’

286
Shares

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको शुक्रबार भारतमा शल्यक्रिया गरिने भएको छ ।

थप उपचारका लागि बिहीबार मुम्बईको नेशनल बर्न सेन्टर पुर्‍याईएका भण्डारीको शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे दुईवटा शल्यक्रिया गरिने छ ।

किर्तीपुर अस्पतालमा उपचारपछि भण्डारीलाई बिहीबार श्री एयरलाइन्सको विमानमार्फत थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो ।

कीर्तिपुर अस्पतालले भण्डारीलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएपछि उहाँलाई मुम्बई लगिएको हो ।

भण्डारीले नेपालमै उपचार गर्ने चाहना राखेपछि स्वास्थ्यमन्त्री पदम गिरीले चिकित्सकहरुसँगको सल्लाह गरेपछि भण्डारी भारत जान तयार हुनुभएको हो ।

नेता भण्डारीको शरीर ३० प्रतिशत जलेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उहाँका दुवै हात गोडा र अनुहारमा जलन भएको छ । तातो धुवाँका कारणले श्वास नलीमा पनि जलन भएको हुनसक्ने चिकित्सकद्वय डा. किरण नकर्मी र डा. निजिना ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो अवस्थामा सुविधासम्पन्न अस्पतालमा उपचार गर्नु राम्रो हुने सुझाव चिकित्सकले दिएका थिए ।

उपचारका क्रममा भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै निधन भएको छ ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र आमा हरिकला घाइते हुनुभएको थियो ।