१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज नेपाली सेनाको दुई सय ६० औं स्थापना दिवस


104
Shares

काठमाडौं । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६० औं स्थापना दिवस मनाउँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने बताइएको छ ।

उहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । प्रमुख अतिथिले सैनिक स्मारकमा पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ ।

सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै, भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।

जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ ।

नेपाली सेनाको संगठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा हुनुहुन्छ । वर्तमान सेनाको सांगठनिक स्वरूपको विसं १८१९ देखि सुरुवात भएको हो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही एक लाख ४४ हजार नौ सय ६९ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ ।

सेना दिवसकै अवसरमा शनिबार टुँडिखेलमा ५५५ जनाले मादलको प्रस्तुति दिनेछन् । ‘वर्ल्ड बुक अफ रेकर्ड’मा नाम लेखाउने गरी पहिलो पटक मादलको प्रस्तुति दिन लागिएको हो ।

विश्वका शान्ति कायम गर्ने सिलसिलामा ७२ नेपाली शान्ति सैनिकको बलिदानी भइसकेको छ भने ६६ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १३ शान्ति मिसनमा पाँच सय ४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ ।