१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै


169
Shares

काठमाडौं । ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारी (चन्द्र भण्डारी) को स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

उनको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ देखिएको भण्डारीसँगै रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलले जानकारी दिए ।

नेता भण्डारीको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो ।

‘पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप इन्जरी रहेको कारण सोचेभन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तिमा १–२ घण्टा राख्नुपर्ने नियम रहेका कारण दोस्रो अपरेसन गर्न नसकिएको जानकारी डा. मुकेशबाट प्राप्त भयो,’ कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको छ । डा. भनाईअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्नेसमेत जानकारी प्राप्त भएको निवेदन गर्न चाहन्छु ।’

गएको बुधबार राति काठमाडौंको बुद्धनगरमा रहेको निवासमा ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । उपचारका क्रममा आमा हरिकलाको निधन भएको थियो ।

नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो ।

नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५-३० प्रतिशत जलन भएको थियो ।