२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


काभ्रेमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न


91
Shares

काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

खानीखोला महाँकालमा सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ८ रजत र २ काँस्य गरी १७ पदकसहित कुमारी माध्यमिक विद्यालयले उपाधि जितेको छ ।

प्रतियोगितामा ७ स्वर्ण, १ रजत पदक हात पार्दै जनविकास मावि द्वितीय र ६ स्वर्ण, २ रजत र ४ काँस्य पदक प्राप्त गर्दै जनहित मावि तृतीय हुन सफल भएका छन् ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले शिक्षा क्षेत्रमा परिवर्तनको महसुस हुने गरी केही काम गर्ने संकल्पसहित लागि परेको बताउँदै विगतमा रोकिएको राष्ट्रपति रनिङ शिल्डले अब निरन्तरता पाउने बताउनुभयो ।

देशमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड हुँदा गाउँपालिकाले दोस्रो पटक प्रतियोगिता गर्नु परेको भन्दै खेल क्षेत्रबाट समाज परिवर्तन गर्न सकिने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि गाउँपालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।

गाउँपालिकाभित्रका ८ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र भलिबल, छात्र र छात्रा दुवैको दौड, हाईजम, लङजम, त्रिपलजम्प, ज्यावलिङ, सटपुट, कराँते गरी ८ विधाका ५८ वटा पदकका लागि दुई सय जना विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।